मेस्सी र रोनाल्डो भिड्दै

एजेन्सी – पछिल्लो एक दशक विश्व फुटबलमा बेग्लै पहिचान बनाउन सफल सुपरस्टारद्वय लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो च्याम्पियन्स लिगमा आमनेसामने हुँदैछन् । युभेन्टसले बार्सिलोनाको आतिथ्यता गर्दा यी दुई खेलाडी क्लब फुटबलमा सम्भवत अन्तिम पटक आमनेसामने हुनेछन् ।

सन् २००८ देखि २०१७ सम्म ब्यालोन डी’ओर उपाधि एकआपसमा जितेका यी दुई रोनाल्डो युभेन्टस नपुग्दासम्म स्पेनिस लिगमा नै प्रतिस्पर्धा गर्दथे । सन् २००९ मा रोनाल्डो म्यानचेस्टर युनाइटेडबाट रियल म्याड्रिड आएपछि एक अर्काबीच प्रतिस्पर्धाले उच्च विन्दु छोएको थियो । दुवै खेलाडीले एक अर्काबीचको प्रतिस्पर्धाले दुवैलाई फाइदा पुगेको बताउँदै आएका छन् ।

रोनाल्डोको इटाली प्रस्थानपछि एल क्लासिकोले पनि त्यो स्तरको चर्चा पाउन सकेको छैन । विश्व फुटबलले यी दुईको प्रतिस्पर्धा हेर्ने चाहना लामो समयदेखि गरेका थिए । समूह चरणको पहिलो खेलमा रोनाल्डो कोरोना भाइरस संक्रमणका कारण अनुपस्थित रहँदा खेल केहि खल्लो भएको थियो । बार्सिलोनाले युभेन्टसको मैदानमा २(० को जित दर्ता गरेको थियो ।

समूह जीमा दुवै टोलीले अन्तिम १६ को यात्रा पक्का गरिसकेका छन् । युभेन्टसलाई समूह विजेता बन्न कम्तिमा ३ गोल प्रहार गर्नुपर्नेछ । दुई गोलको अन्तरले जिते मात्र युभेन्टस अंक तालिकाको शीर्षस्थानमा पुग्नेछ । बार्सिलोना भने अपराजित यात्रा कायम राख्दै समूह विजेताको रुपमा अर्को चरण पुग्ने प्रयासमा हुनेछ ।

रोनाल्डो र मेस्सी दुवै आफ्नो करिअरको अन्त्यतिर छन् । उमेरले रोनाल्डो ३५ र मेस्सी ३३ वर्ष भएपनि दुवैले निरन्तर उच्च स्तरको प्रदर्शन गरिरहेका छन् । मेस्सीले ६ पटक ब्यालोन डी’ओर उपाधि जितेका छन् भने रोनाल्डोले ५ पटक सो उपलब्धि हासिल गरेका छन् ।

वर्तमान समयमा रोनाल्डो मेस्सीको तुलनामा केहि राम्रो लयमा छन् । गत साता मात्र क्लब फुटबलमा ७ सय ५० गोल पूरा गरेका रोनाल्डोले युभेन्टसमा पनि आफ्नो स्तर सिद्ध गरेका छन् । मेस्सी भने यस सिजन आफ्नो प्रदर्शन तुलना गर्दा पछिल्ला सिजनभन्दा केहि कमजोर देखिएका छन् ।

रोनाल्डोले युभेन्टसका लागि पहिलो सिजनमा २१ गोल गरेका थिए । दोस्रो सिजनमा ३१ गोल गरेका रोनाल्डोले दुवै सिजनमा लिग उपाधि जितेका थिए । यस सिजन उनले ६ खेलमा ८ गोल गरिसकेका छन् । यता मेस्सी भने यस सिजन क्लबमा खासै जम्न सकेका छैनन् । १० खेलमा ४ गोल गरेका मेस्सीले २ गोलमा पेनाल्टीको सहारा लिनुपरेको छ ।

मेस्सी र रोनाल्डोले विश्व फुटबलमा व्यक्तिगत प्रतिस्पर्धालाई बेग्लै उचाइ दिएका थिए । एक अर्काको प्रतिस्पर्धाले गर्दा झनै राम्रो प्रदर्शन गर्न प्रेरित भएका यी दुईको खेलमा बेग्लै चर्चा हुनु स्वभाविक हो । करिअरको अन्त्यतिर आएका यी दुई खेलाडीको प्रतिस्पर्धामा को अब्बल होला, मंगलबारको खेलले त्यो बताउने नै छ ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ