अरुण तेस्रोमा आज पनि मजदुरकाे आन्दोलन जारी, काम अवरुद्ध


जानकारी
सबै हेर्नुहोस्


संखुवासभा जिल्लामा निर्माणधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनाका मजदुरहरू आन्दोलित हुँदा मंगलबार दोस्रो दिन पनि काम अवरुद्ध भएको छ ।
ज्याला बढाउनपर्ने माग राख्दै सोमबार बिहानैदेखि सुरु भएको आन्दोलन मंगलबार दोस्रो दिन पनि जारी रहेको जनाइएको छ ।
संखुवासभामा निर्माणधीन नौ सय मेगावाटको अरुण–३ जलविद्युत् आयोजनाको ड्यामसाइट रहेको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा मजदुरहरूले काम अवरुद्ध पारेका हुन् ।
सोमबार बिहानैदेखि मजदुरहरू प्लेकार्डसहित नाराबाजी गर्दै अरुण–३ को निर्माणस्थल घेराउ गरेका हुन् ।
भौतिक पूर्वाधार कार्यालयले निर्धारण गरेको दररेटअनुसार मजदुरहरूले ज्याला पाउनुपर्ने माग राख्दै काम अवरुद्ध पारेका हुन् ।
कम्पनीले जिल्ला दररेटअनुसार, दक्ष मजदुरले ९ सय ४० रुपैयाँ, अर्धदक्षले ७ सय ७५ रुपैयाँ र ज्यामीले ६ सय ५० रुपैयाँलगायत थुप्रै मागहरू राख्दै आएका छन् ।
८ घन्टा ड्युटी भए पनि १२ घन्टासम्म दिन र रातमा काम गरिरहेको हुँदा ओभरटाइमको पैसा दिनुपर्ने, मजदुरहरूलाई हरेक महिनाको १५ तारिखभित्र तलबभत्ता बैंक खातामा जम्मा हुनुपर्ने, साप्ताहिक, पाक्षिक र मासिक रूपमा पाउने बिदा दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने र विनाकारण मजदुरलाई कामबाट निकाल्ने कार्य बन्द गर्नुपर्नेलगायतका नाैबुँदे माग अगाडि सारेका हुन् ।
जिल्ला दररेटअनुसार तलबभत्ता नपाएको कारणले आन्दोलन गर्नुपरेको जेपी कम्पनीमा कार्यरत अपसर राईले बताए ।
जेपी कम्पनीमा कार्यरत घनश्याम कार्कीको नेतृत्वमा सात सदस्यीय वार्ता टोलीसमेत गठन गरेका छन् ।
यसअघि पनि मजदुरहरूले ज्याला बढाउन माग गर्दै काम अवरुद्ध गर्दा तत्कालै बढाउने सहमति भएको थियो । तर, नौ महिना बितिसक्दासमेत ज्याला बढाउने र स्थानीय मजदुरहरूलाई काम दिने सहमति निर्माण कम्पनीले पालना नगरेका भन्दै पुनः काम अवरुद्ध पार्न बाध्य भएको मजदुरहरूको भनाइ छ ।
सोमबार दुवै पक्ष छलफल भए पनि सहमतिमा पुग्न सकेन । आज (मंगलबार) मकालु गाउँपालिका अध्यक्ष तेजबहादुर पोख्रेल र स्थानीय प्रशासन र कम्पनीका प्रतिनिधिहरू बसेर छलफल गर्ने तयारी भएको जनाएको छ । सहमति कार्यान्वयन नभएसम्म काम सुचारु नहुनेसमेत कामदारहरूको भनाइ छ ।
उक्त अरुण तेस्रो सुरुङमार्ग निर्माणलगायतका ड्यामसाइटको काम भारतीय निर्माण कम्पनी जेपी एसोसियटर्स कन्ट्रक्सनले जिम्मा लिएर गरिरहेको छ ।
