बजारीकरणलाई प्रवर्द्धन गर्न स्याङ्जामा पहिलाेपटक आलु महोत्सव, १८ प्रकारका परिकार

सागर न्यौपाने/स्याङ्जा : ‘सुन्दर ठाउँ पकान जाऊँ, आलुको स्वादिष्ट परिकार खाउँ’, ‘आलु एक, परिकार अनेक’ भन्ने मुल नारा सहित स्याङ्जाको भीरकोटमा पहिलोपटक आलु महोत्सव भएको छ ।

स्याङ्जाको भीरकोट नगरपालिका–५ स्थित पकान फाँटको तीन सय रोपनी क्षेत्रफलमा दुई सय बढी कृषक र एकल आलु खेतीको प्रवर्द्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको हो । आलुखेती तर्फ किसानहरूको आकर्षण घटिरहेको बेला महोत्सवले यहाँका किसानहरूको उर्जा थपेको वडा अध्यक्ष लक्ष्मण अधिकारीको भनाइ छ ।

आलु किसान र महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाले आयोजना गरेको दुई दिने आलु महोत्सवमा आलु पारखीले १८ भन्दा बढी प्रकारका स्वाद चाख्न पाएका छन् । जिल्लाका १५ हजार भन्दा बढी किसानले आलु महोत्सवको अवलोकन गरेका थिए । आलुखेती प्रविधिमा र कृषि क्षेत्रमा क्रान्ति र बजारीकरण गर्न महोत्सव सान्दर्भिक भएको किसानहरूको भनाइ छ ।

किसानले लगाएको आलुको बजारलाई एकरूपता दिँदै ३५ रुपैयाँमा प्रतिकेजीमा आलुको बिक्रीवितरण गर्ने गरिएको छ । यसबाट आलु किसान पनि उत्साहित भएका छन् । भीरकोट नगरपालिकाले ५० प्रतिशत अनुदान र कृषि ज्ञान केन्द्रले ९० प्रतिशत अनुदानमा किसानलाई आलु प्रदान गरेको थियो ।

महोत्सवमा किसानले उत्पादन गरेको आलु सहज रूपमा बिक्रि गर्न पाउँदा खुसी भएका छन् । आलुलाई पकेट र मुख्य नगदेबालीको रूपमा विकास गर्न पनि महोत्सव फलदायी भएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुहुन्छ ।

कृषि ज्ञानकेन्द्र स्याङ्जाले कृषकका लागि हाते ट्याक्टर, बिउविजनसाथै विभिन्न कृषि औजारसमेत वितरण गरेको थियो । आलुको खपत बढी रहेको र आपूर्ति कम हुँदै गएपछि आलुखेतीका लागि उपयुक्त मानिएको भीरकोटका आलु कृषकलाई महोत्वसले आलु खेती तर्फ आकर्षित गरेको छ ।

स्थानीय सरकारले स्थानीय प्रविधि मार्फत किसानहरूलाई अनुदानसहित कृषि प्रविधिमैत्री बनाउन सके कृषि प्रणालीमा सुधार आइ किसानहरूमा एकता आउने थियो ।

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ