अब राजसंस्था फर्काउनुपर्ने आशयमा पूर्वराजाले भनेः ‘जनता र राजाको सहमतिमा देशको अस्तित्व रक्षा होस्’

पूर्वराजा ज्ञानेन्द्र शाहले नेपाल जनता र राजाको सहमतिमा खडा भएको जिकिर गर्दै मुलुकको अस्तित्व रक्षा पनि सहमतिमै हुने बताएका छन् ।

७१औँ प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा बिहीबार जारी शुभकामना सन्देशमा पूर्वराजाले निषेध र विभेदको राजनीति सुरु भएको आरोप लगाएका छन् । पूर्वराजा ज्ञानेन्द्रले घुमाउरो भाषामा राजसंस्था पुनर्स्थापना हुनुपर्नेमा जोड दिएका छन् ।

‘नेपाल जनता र राजाको सहमतिबाट खडा भएको र त्यसको औचित्य रक्षा पनि सहमतिबाट मात्रै हुने यथार्थको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रतिदिन जटिलतामा फस्दै गएको महसुस आमनेपालीले गरिरहेका छन्ऽ’ संवाद सचिव डा. फणि पाठकद्वारा जारी पूर्वराजाको सन्देशमा भनिएको छ ।

उनले प्रजातन्त्रको सिद्धान्तअनुरूप मुलुकमा प्रजातान्त्रिक विधि–व्यवहार अघि बढोस् भन्ने चाहना पनि व्यक्त गरेका छन् । उनले सबैले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने वेला आएकोसमेत सन्देशमा उल्लेख गरेका छन् ।

प्रजातन्त्र प्राप्तिको ७० वर्षपछि अहिले पनि प्रजातन्त्रकै विषयमा विवाद, द्वन्द्व र बहस भइरहेकोमा असन्तुष्टि व्यक्त गर्दै उनले भनेका छन्, ‘जनताको आस्था, चाहना र जनभावना अन्ततः अमर रहन्छ र यसलाई मेट्न खोजेर, बटारेर त्यो मेटिँदैन बटारिन्न ।’

राधाकृष्ण डुम्रे

उहाले लेखेका समाचारहरु

यस समुदाहिक चेतना मंच द्वारा संचालित नेपाल सेरोफेरोको राधाकृष्ण डुम्रे नेपाल सेरोफेरोका प्रधान सम्पादक हुनुन्छ उहा बिगत ३ दसकदेखि नेपाल पत्रकारिता क्षेत्रमा उल्लेखनिय योगदान गर्दै नेपाल पत्रकार महासंघ स्यांग्जाको जिम्मेवारी समेत निर्वाह गरिसक्नु भएको छ